उच्च शिक्षालाई व्यावहारिक, सीपमूलक, समाजमुखी तथा सेवामुखी बनाउने उद्देश्यले धनगढी उपमहानगरपालिकाको कार्यालय र सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत सञ्चालित कैलाली बहुमुखी क्याम्पस, धनगढीबीच एक महत्त्वपूर्ण समझदारीपत्र (MoU) सम्पन्न भएको छ।
यस समझदारीपत्रको मुख्य उद्देश्य क्याम्पसमा अध्ययनरत विभिन्न संकाय तथा कार्यक्रमका विद्यार्थीहरूलाई आफ्नो अध्ययनसँग सम्बन्धित क्षेत्रमा व्यावहारिक ज्ञान, सीप, र अनुभव प्रदान गर्नु हो। यसका साथै, विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्व, नेतृत्व क्षमता, र व्यावसायिक दक्षता विकास गर्ने लक्ष्य राखिएको छ।
समझदारीपत्रका मुख्य बुँदाहरू:
विद्यार्थी परिचालन तथा इन्टर्नसिप: धनगढी उपमहानगरपालिकाका सबै वडामा आवश्यकता र सम्भाव्यताका आधारमा विद्यार्थीहरूलाई परिचालन गरी स्थानीय विकास तथा सामाजिक सेवामा इन्टर्नसिपको अवसर प्रदान गरिनेछ।
शैक्षिक साझेदारी: धनगढी उपमहानगरपालिकाको "हाम्रो धनगढी हामी बनाउँछौँ" अभियानमा क्याम्पसलाई सक्रिय शैक्षिक साझेदारका रूपमा सहभागी गराइनेछ।
Adopt School कार्यक्रम: वडा नं. ९, चकमेलिस्थित पार्वती आधारभूत विद्यालयलाई कैलाली बहुमुखी क्याम्पसले शैक्षिक सहयोग तथा सहकार्यका लागि 'Adopt School' का रूपमा विकास गर्नेछ।
सूचना प्रविधिमा प्रयोगात्मक अभ्यास: B.Sc. CSIT र BIT मा अध्ययनरत विद्यार्थीहरूलाई उपमहानगरपालिका तथा अन्तर्गतका वडा कार्यालयहरूमा सूचना प्रविधिसँग सम्बन्धित प्रयोगात्मक कार्यमा सहभागी गराउन सकिनेछ। विद्यार्थी परिचालन गर्दा उनीहरूको अध्ययनरत विषय, दक्षता र रुचिलाई प्राथमिकता दिइनेछ।
यस सहकार्यबाट "हाम्रो धनगढी, हामी बनाउँछौँ" भन्ने भावनालाई व्यवहारमा रूपान्तरण गर्दै विद्यार्थी, क्याम्पस, स्थानीय सरकार, विद्यालय र समुदायबीच प्रभावकारी वातावरण निर्माण हुने अपेक्षा गरिएको छ। उल्लेखित सम्पूर्ण सेवा तथा सामाजिक सहयोग कार्यक्रमहरू विना कुनै सेवा शुल्क निःशुल्क रूपमा प्रदान गरिनेछ।